नबूकदनेसर राजा भएको दोस्रो वर्षमा उनले एउटा सपना देखे। सपना देखेपछि उनलाई यस्तो छटपटी भयो कि उनी फेरि सुत्नै सकेनन्। यसकारण उनले आफ्नो राज्यका ज्योतिषी, जादूगर, मन्त्र-तन्त्र गर्नेहरू र टुना-मुना जान्नेहरूलाई बोलाए र सपनाको अर्थ खोल्ने आज्ञा दिए। तिनीहरू आए र राजाका सामुन्ने खडा भए। राजाले तिनीहरूलाई भने, “मैले देखेको एउटा सपनाबारे मलाई चिन्ता लागेको छ। म त्यसको अर्थ जान्न चाहन्छु।” तिनीहरूले अरामी भाषामा राजालाई भने, “महाराज दीर्घायु होऊन्! हामीलाई सपना बताउनुहोस् र हामी हजुरलाई त्यसको अर्थ खोलिदिनेछौं।” राजाले तिनीहरूलाई भने, “मैले पक्का निर्णय गरिसकेको छु कि तिमीहरूले नै मलाई सपना र त्यसको अर्थ दुवै बताउनुपर्नेछ। तिमीहरूले बताउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूका घरबारहरू भत्काएर रास लाउनेछु। तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ दुवै बताउन सक्यौ भनेचाहिँ म तिमीहरूलाई इनाम दिनेछु र सम्मानित तुल्याउनेछु। तिमीहरूले अब मलाई बताओ कि सपना के थियो र त्यसको अर्थ के हो।” तिनीहरूले फेरि राजालाई जवाफ दिए, “महाराजाले सपनाचाहिँ हामीलाई बताइदिनुभए अर्थ हामी बताउनेथियौं।” तब राजाले जवाफ दिए, “मैले सोचेकै जस्तै हुँदै छ, तिमीहरूले कुरा टारेर समय लिने चेष्टा गर्दै छौ किनभने सपनाको अर्थ बताएनौ भने मैले तिमीहरू सबैलाई एकै प्रकारको दण्ड दिने निश्चय गरेको छु भनी तिमीहरूले देखिसकेका छौ। तिमीहरूले आपसमा मलाई झूटो भनिरहने मतो गरेका छौ किनभने त्यसो गर्नाले समयमा कुरा फेरिनेछ भन्ने आशा गरेका छौ। सपना के थियो, मलाई बताओ। तब म जान्नेछु कि तिमीहरूले त्यसको अर्थ पनि मलाई बताउन सक्नेछौ।” ती सल्लाहकारहरूले जवाफ दिए, “महाराजाले जे जान्न चाहनुहुन्छ, त्यो बताउने यस धर्तीमा कुनै मानिस छैन। कुनै महान्भन्दा महान् र सर्वशक्तिमान् राजाले पनि आफ्ना ज्योतिषीहरू, जादूगरहरू र टुना-मुना जान्नेहरूबाट यस्तो कुरो कहिल्यै मागेका थिएनन्। हजुरले जे चाहनुहुन्छ, त्यो यति गाह्रो कुरो छ कि देवताहरूबाहेक अरू कसैले त्यो बताउन सक्दैनन् र ती देवताहरू मानिसहरूका बीचमा बास गर्दैनन्।” त्यो कुरा सुनी राजालाई साह्रै रिस उठ्यो र उनले बेबिलोनका सबै राजकीय सल्लाहकारहरूलाई मार्ने आज्ञा दिए। त्यहीअनुसार हुकुम निक्ल्यो र दानिएल र उनका साथीहरूलाई पनि मार्नको लागि तिनीहरूलाई खोज्न मानिसहरू पठाइए। राजाका अङ्ग-रक्षकका हाकिम अर्योकलाई प्राण-दण्ड दिने हुकुम दिएको थियो। दानिएल अर्योककहाँ गए र बडो होशियार भई बुद्धिमानीपूर्वक उनीसँग कुरा गरे। उनले अर्योकलाई किन राजाले त्यस्तो कडा आज्ञा गर्नुभएको हो भनी सोधे। अर्योकले दानिएललाई भएका सबै घटनाहरू बताइदिए। तब दानिएल तुरुन्तै राजाको सामुन्ने गए र उनका सपनाको अर्थ बताइदिनलाई केही समय पाउन बिन्ती गरे। त्यसपछि दानिएल घर गए र सबै घटनाबारे आफ्ना मित्रहरू हनन्याह, मीशाएल र अजर्याहलाई सुनाए।
दानिएल 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 2:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू