१ इतिहास 25

25
मन्‍दिरमा गाउने-बजाउनेहरू
1दाऊद राजा र लेवी अगुवाहरूले यी लेवी गोत्रलाई आराधना, सेवा गर्न चुने— आसाप, हेमान र यदूतून। वीणा र झ्‍यालीका सङ्गीतसाथ परमेश्‍वरका वचन सुनाउने तिनीहरूको काम थियो। आराधनामा सेवा गर्न छानिएका मानिसहरूको सूची प्रत्‍येक दलले गर्नुपर्ने कामको बयानसहित यस्‍तो थियो:
2आसापका चार छोराहरू— जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला। तिनीहरू आसापका आदेशमा चल्‍थे। राजाले आज्ञा गरेको समयमा आसापले परमेश्‍वरको वचन सुनाउँथे।
3यदूतूनका छ छोराहरू— गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याहले आफ्‍ना बुबाका आदेशमा वीणाका सङ्गीतसाथ परमेश्‍वरका वचन सुनाउँथे र परमप्रभुलाई प्रशंसा र धन्‍यवाद दिँदै गाउँथे।
4हेमानका चौध छोराहरू— बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत थिए। 5परमेश्‍वरले राजाका अगमवक्ता हेमानलाई आफ्‍नो प्रतिज्ञाअनुसार यी चौध छोरा र तीन छोरीहरू पनि दिनुभयो र हेमानलाई त्‍यसरी बलियो पार्नुभयो। 6उनका सबै छोराहरू बुबाको आदेशमा झ्‍याली र वीणा बजाउँथे र मन्‍दिरको आराधनामा साथ दिन्‍थे अनि आसाप, यदूतून र हेमानले राजाको आदेशमा काम गर्थे।
7यी चौबीसै जना खुब सिपालु थिए र उनका लेवी बन्‍धुहरू तालिम पाएका सिपालु सङ्गीतकार थिए। तिनीहरू जम्‍मा दुई सय अठासी जना थिए।
8कसले कुन काम गर्नुपर्ने, सो निर्णय गर्न तिनीहरू सबै मिलेर चिट्ठा हाल्‍थे। बुढा-पाका, युवा, सिपालु वा सिकारु सबैले चिट्ठा हाल्‍थे।
9-31यी दुई सय अठासी जना मानिसहरू परिवार-परिवारका हिसाबले चौबीस दलमा बाँडिएका थिए। प्रत्‍येक दलमा बाह्र जना हुन्‍थे र प्रत्‍येक दलको एक जना अगुवा हुन्‍थ्‍यो। तिनीहरूको एकपछि अर्को गर्दै सेवा गर्ने कार्य यस्‍तो थियो:
१) आसापका परिवारको योसेफ
२) गदल्‍याह ३) जक्‍कूर
४) यिस्री ५) नतन्‍याह,
६) बुक्‍कियाह ७) यसरेला
८) यशयाह ९) मत्तन्‍याह
१०) शिमी ११) अज्रेल
१२) हशब्‍याह १३) शूबाएल
१४) मत्तित्‍याह १५) यरीमोत
१६) हनन्‍याह १७) योश्‍बाकाशा
१८) हनानी १९) मल्‍लोती
२०) एलिआता २१) होतीर
२२) गिद्दलती २३) महजीओत
२४) र रोममती-एजेर।

अहिले सेलेक्ट गरिएको:

१ इतिहास 25: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्