शैतानले इस्राएल जातिमाथि कष्ट ल्याउन चाहन्थ्यो र त्यसले दाऊदलाई जनसङ्ख्या लिने विचार गर्न लायो। दाऊदले योआब र अरू अधिकृतहरूलाई यसो भने, “सारा इस्राएल देशमा बेर्शेबादेखि दानसम्म जाओ र मानिसहरूका गन्ती लेओ। तिनीहरूको सङ्ख्या कति छ, म जान्न चाहन्छु।” योआबले जवाफ दिए, “परमप्रभुले इस्राएलका मानिसहरूलाई अहिलेको भन्दा सय गुणा बढ्ता बनाऊन्! राजन्! ती सबै हजुरका सेवक हुन्। के तपाईं गन्ती लिएर सारा जातिलाई दोषी तुल्याउन चाहनुहुन्छ?” तर राजाले योआबलाई आज्ञापालन गर्न लाए। योआब हिँडे र इस्राएल देशभरि यात्रा गरे र यरूशलेममा फर्के। उनले दाऊद राजालाई सैनिक सेवा गर्न लायक पुरुषहरूको सङ्ख्या यस प्रकार दिए– इस्राएलमा ११,००,००० र यहूदामा ४,७०,०००। योआबले राजाको सो आज्ञा रुचाएका थिएनन् र लेवी र बेन्यामीन कुलको गन्ती लिएनन्। त्यस कामले परमेश्वर अप्रसन्न हुनुभयो र इस्राएललाई दण्ड दिनुभयो। दाऊदले परमेश्वरलाई भने, “यी काम गरेर मैले डरलाग्दो पाप गरें! कृपा गरी मलाई क्षमा गर्नुहोस्। मैले मूर्ख काम गरें।” तब परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो, “जा र दाऊदलाई भन् कि म त्यसलाई तीन कुरामा एउटा कुरा रोज्न दिँदै छु। त्यसले जे रोज्छ, म त्यही गर्नेछु।” गाद दाऊदकहाँ गएर परमेश्वरले भन्नुभएको कुरा राजालाई सुनाए। उनले सोधे, “हजुर, कुनचाहिँ रोज्नुहुन्छ? देशमा तीन वर्षसम्म अनिकाल कि तीन महिनासम्म शत्रुहरूदेखि भागिहिँड्नु कि तीन दिनसम्म परमप्रभुको तरवारद्वारा प्रहार? त्यस प्रहारद्वारा महामारी पठाउनुभएर आफ्ना स्वर्गदूतद्वारा परमप्रभुले सारा इस्राएल देशमा मृत्यु ल्याउनुहुनेछ? परमप्रभुलाई म के उत्तर लैजाऊँ?” दाऊदले गादलाई उत्तर दिए, “म सङ्कटमा परें! तर म मानिसहरूबाट दण्ड पाउन चाहन्नँ। परमप्रभु आफैंले मलाई दण्ड देऊन् किनभने उहाँ कृपालु हुनुहुन्छ।” यसकारण परमप्रभुले इस्राएलमा एउटा महामारी पठाउनुभयो र सत्तरी हजार मानिसहरू मरे। त्यसपछि यरूशलेम नाश गर्न उहाँले एउटा स्वर्गदूत पठाउनुभयो तर आफ्नो विचार बदल्नुभएर दूतलाई यसो भन्नुभयो, “बस, भयो! बन्द गर!” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलाछेउनिर उभिएका थिए। दाऊदले स्वर्गदूतलाई हातमा तरवार लिई यरूशलेम नाश गर्न तयार भई बीच आकाशमा उभिरहेका देखे। तब दाऊद र अगुवाहरूले भाङ्ग्रा लाएर भूइँमा घोप्टो परी ढोगे र मुखले भूइँ छोए। दाऊदले प्रार्थना गरे, “हे परमेश्वर! दोषी म हुँ। जनगणना होस् भनी आज्ञा गर्ने म हुँ। यी बिचराहरूले के गरे र? परमप्रभु, मेरा परमेश्वर, म र मेरा परिवारलाई दण्ड दिनुहोस्, आफ्ना प्रजालाई छोडिदिनुहोस्।”
१ इतिहास 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 21:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू