१ इतिहास 19

19
अम्‍मोनी र अरामीहरूमाथि दाऊदको विजय
(२ शमूएल १०:१-१९)
1केही समयपछि अम्‍मोनका राजा नाहाश मरे र उनका छोरा हानून राजा भए। 2दाऊद राजाले भने, “उनको बुबा नाहाशले मसित गरेजस्‍तै मैले हानूनलाई साँचो मित्रता देखाउनुपर्छ।” यसर्थ आफ्‍नो दु:ख प्रकट गर्दै उनले दूतहरू पठाए।
ती दूतहरूले अम्‍मोन पुगेर राजासित भेट गरे। 3अम्‍मोनी अगुवाहरूले आफ्‍ना राजालाई भने, “के दाऊदले आफ्‍नो दु:ख प्रकट गर्न तपाईंको बुबाको सम्‍मान्‌मा यी मानिसहरूलाई पठाएका हुन् भनी सोच्‍नुहुन्‍छ? त्‍यो हुँदै होइन! तिनले त हामीलाई अधीन गर्न तिनीहरूलाई पठाएका हुन्! जासूस बनाई जाँचबुझ गर्न पठाएका हुन्!”
4हानूनले दाऊदका दूतहरूलाई पक्रे, उनका दाह्री खौरिदिए, उनीहरूको कम्‍मरमा वस्‍त्र काटिदिएर फर्काउन लाए। 5तिनीहरू घर फर्कन साह्रै लजाए। के भएको थियो, त्‍यो जब दाऊदले सुने, उनले तिनीहरूलाई फेरि दाह्री नबढेसम्‍म यरीहोमा नै बस्‍दै गर्न खबर पठाए।
6अब हामी दाऊदका आँखाका कसिङ्गर बनियौं भनी हानून राजा र अम्‍मोनीहरूले बुझे। यसकारण तिनीहरूले माथिल्‍लो अराम-नाहारैम र अराम-माका र सोबा भन्‍ने अरामी देशहरूबाट रथ र सारथीहरू भाडामा ल्‍याउन चौँतीस हजार किलोग्राम चाँदी ज्‍याला पठाए। 7तिनीहरूले बत्तीस हजार रथ भाडामा लिए। माकाका राजाका सेना आएर मेदबाका छेउमा छाउनी हालेर बसे। अम्‍मोनीहरू पनि सबै सहरबाट निस्‍किआए र लडाइँ गर्न तयार भए।
8अम्‍मोनीहरूले के गर्दै छन् भन्‍ने सुनेर दाऊदले योआबलाई आफ्‍ना सारा सेनाका साथ पठाए। 9अम्‍मोनीहरू आएर राजधानी रब्‍बा सहर पस्‍ने ढोकाहरूमा लड्‍न तयार भएर बसे। मद्दत दिन आउने राजाहरू मैदानमा तयार भएर बसे।
10शत्रुका दलले अगाडि र पछाडिबाट हमला गर्नेरहेछन् भनी योआबले देखे र इस्राएलका सबैभन्दा असल लडाकु सैनिकहरूलाई छानेर अरामीहरूको सामुन्‍ने मोर्चा बाँधे। 11बाँकी सेना दललाई उनले आफ्‍ना भाइ अबीशैका अधीनमा दिए। अबीशैले तिनीहरूलाई लिई अम्‍मोनीहरूको सामुन्‍ने अर्को मोर्चा बाँधे। 12योआबले अबीशैलाई भने, “अरामीले मलाई जित्‍दैगरेका देख्‍यौ भने तिमी आएर मलाई मद्दत गर्नू र अम्‍मोनीहरूले तिमीलाई जित्‍दैगरेका देखें भने म आएर तिमीलाई मद्दत गर्नेछु। 13साहसी र वीर बन। हाम्रा देशवासी र हाम्रा परमेश्‍वरका सहरहरूका निम्‍ति साहससित युद्ध गरौं र परमप्रभुको इच्‍छा पूरा होस्।”
14योआब र तिनका योद्धाहरू हमला गर्न अघि बढे र अरामीहरू भागे। 15अरामीहरू भागेका देखेर अम्‍मोनीहरू अबीशैका सामुन्‍नेबाट भागे र सहरभित्र पसे। त्‍यसपछि योआब यरूशलेममा फर्किए।
16इस्राएलीहरूसँग आफूले हारेको अरामीले थाहा पाए। तिनीहरूले यूफ्रेटिस नदीको पूर्व किनारमा भएका अरामी देशहरूबाट सेना ल्‍याए र तिनीहरूलाई सोबाका राजा हददेजेरका सेनापति शोपकका अधीनमा दिए। 17त्‍यो कुरा सुनेर दाऊदले इस्राएली सेनालाई भेला गरे, यर्दन नदी पार गरे र तिनीहरूलाई अरामीहरूको सामुन्‍ने खडा गरे। लडाइँ सुरु भयो। 18इस्राएलीहरूले अरामी सेनालाई धपाए। दाऊद र उनका योद्धाहरूले सात हजार अरामी सारथि र चालीस हजार पैदल सेनालाई मारे। तिनीहरूले अरामी सेनापति शोपकलाई पनि मारे। 19हददेजेरका अधीनका राजाहरूले हामीलाई इस्राएलले जितेछन् भनी थाहा पाएर दाऊदसित सन्‍धि गरे र तिनका प्रजा भए। त्‍यसपछि अरामीहरू कहिल्यै पनि अम्‍मोनीहरूलाई सहायता गर्न राजी भएनन्।

अहिले सेलेक्ट गरिएको:

१ इतिहास 19: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्