गन्ती 27:12-20
गन्ती 27:12-20 NNRV
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ यो अबीराम पहाड़मा उक्ली, र मैले इस्राएलीहरूलाई दिएको देश हेर्। तैंले त्यो देखेपछि तँ पनि तेरो दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्। किनभने जब सीनको उजाड़-स्थानमा भएका पानीहरूमा समुदाय मेरो विरुद्धमा उठेको थियो, तब तिमीहरू दुवैले तिनीहरूका सामु मेरो पवित्रताको कदर नगरेर मेरो आज्ञा भङ्ग गरेका थियौ।” (यो घटना सीनको उजाड़-स्थानमा भएको मेरीबा-कादेशका पानीहरूमा भएको थियो।) मोशाले परमप्रभुलाई भने, “सारा मानव-जातिका आत्माका परमप्रभु परमेश्वरबाट नै यस समुदायमाथि एक जना मानिस नियुक्त होस्, जो तिनीहरूका अगिअगि बाहिर जाने र भित्र आउने होस्, जसले तिनीहरूलाई अगुवाइ गरेर लैजानेछ, र तिनीहरूलाई भित्र ल्याउनेछ। यसरी परमप्रभुका मानिसहरू गोठालो नभएका भेड़ाहरूझैँ नहोऊन्।” परमप्रभुले मोशालाई भन्नुभयो, “आत्मा भएको नूनको छोरो यहोशूलाई तैंले लिएर त्यसमाथि तेरो हात राख्, र त्यसलाई एलाजार पूजाहारी र सारा समुदायको सामुन्ने खड़ा गर्। तिनीहरूको नजरकै सामु त्यसलाई यो दायित्व सुम्पिदे। तैंले त्यसलाई तेरो अख्तियारबाट केही दे, र सारा इस्राएली समुदायले त्यसको हुकुम पालन गरोस्।

