मर्कूस 8:22-33
मर्कूस 8:22-33 NNRV
त्यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे। उहाँले त्यस अन्धो मानिसको हात समातेर त्यसलाई गाउँबाट बाहिर ल्याउनुभयो, र त्यसका आँखामा थुकेर त्यसमाथि आफ्ना हात राखी त्यसलाई सोध्नुभयो, “के तिमी केही देख्छौ?” अनि माथितिर हेरेर त्यसले भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँड़िरहेका देख्छु।” तब उहाँले फेरि त्यसका आँखामा हात राख्नुभयो, र त्यसले एक टक लाएर हेर्यो। त्यसले आफ्नो दृष्टि प्राप्त गर्यो र सबै थोक छर्लङ्ग देख्न लाग्यो। तब उहाँले त्यसलाई गाउँतिर नपस्ने हुकुम गरी त्यसको घरमा पठाउनुभयो। येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्ना चेलाहरूलाई यसो भनेर सोध्नुभयो, “मानिसहरूले के भन्छन्, म को हुँ?” तिनीहरूले उहाँलाई भने, “कसैले भन्छन्, ‘बप्तिस्मा-दिने यूहन्ना।’ अरूहरूले ‘एलिया,’ अनि अरू कतिले भन्छन्, ‘अगमवक्ताहरूमध्ये एक जना’।” तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले उत्तर दिएर उहाँलाई भने, “तपाईं ख्रीष्ट हुनुहुन्छ।” उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैलाई केही नभन्नू भनी आज्ञा दिनुभयो! “मानिसको पुत्रले धेरै दुःख भोग्नु, र धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट इन्कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्नु आवश्यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्नुभयो। यसरी उहाँले यो कुरा प्रष्टै भन्नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे। तर फर्केर आफ्ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्काउनुभयो, “ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्वरपट्टि छैन, तर मानिसपट्टि छ।”

