यशैया 5
5
दाखबारीको गीत
1मैले प्रेम गरेको उनको दाखबारीको विषयमा म एउटा गीत गाउनेछु। एउटा अत्यन्त मलिलो डाँड़ामा मेरा प्रियको एउटा दाखबारी थियो। #मत्ती २१:३३; मर्क १२:१; लूक २०:९ 2तिनले त्यो खने र त्यसका ढुङ्गाहरू टिपेर फ्याँके, र त्यसमा तिनले सबैभन्दा असल दाख रोपे। त्यसको माझमा तिनले एउटा मचान बनाए र त्यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसमा खराब दाख पो फल्यो।
3“अब हे यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीको बीचमा इन्साफ गरिदेओ। 4मेरो दाखबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्छ कि भनेर आशा गरेको त किन त्यसले खराब दाख मात्र फलायो? 5अब म मेरो दाखबारीलाई के गर्नेछु, सो तिमीहरूलाई भन्नेछु: म त्यसको बार उखेलिदिनेछु, र त्यो नष्ट हुनेछ। म त्यसको पर्खाल भत्काइदिनेछु, र त्यो कुल्चीमिल्ची गरिनेछ। 6त्यसलाई म उजाड़ भूमि पारिदिनेछु। त्यो न त छिमलिनेछ न गोड़िनेछ, तर त्यसमा सिउँड़ी र काँढ़ाहरू उम्रनेछन्। त्यसमा पानी नपरोस् भनेर बादललाई पनि म आज्ञा गर्नेछु।”
7सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्दको बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्टको रुवाबासी पो सुनियो।
धिक्कार र इन्साफ
8धिक्कार तिमीहरूलाई, जसले केही जग्गा नरहने गरी घरसित घर, र खेतसित खेत जोड्छौ र तिमीहरू देशको बीचमा एकलै बस्छौ।
9सर्वशक्तिमान् परमप्रभुले मैले सुन्ने गरी भन्नुभएको छ, “निश्चय नै ठूला-ठूला घरहरू उजाड़ हुनेछन्, र सुन्दर भवनहरू निर्जन हुनेछन्। 10पाँच बिघा दाखबारीले पाँच पाथी दाखमद्य, र पचास पाथी बीउले पाँच पाथी अन्न मात्र उब्जाउनेछ!”
11धिक्कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्छन्, जो मातेर चूर हुन राती अबेरसम्म बस्छन्! 12तिनीहरूका भोजहरूमा वीणा, सारङ्गी, खैँजड़ी, बाँसुरी र मद्य हुन्छन्, तर तिनीहरू परमप्रभुका कामको वास्ता गर्दैनन्। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्। 13यसैकारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन्, र तिनीहरूका उच्च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्यासले पीडित हुनेछन्। 14यसैकारण चिहानले#5:14 हिब्रू: पातालले आफ्नो भोक बढ़ाएको छ र आफ्नो मुख आँ गरी बाएको छ। तिनीहरूका भारदारहरू र भीड़हरू, तिनीहरूका झगड़िया र हल्ला गर्नेहरू त्यहीँ भित्र पर्नेछन्। 15यसरी मानिस निहुराइनेछ, र मानिस-जाति विनम्र तुल्याइनेछ, र अभिमानीका आँखा झुकाइनेछन्। 16तर सर्वशक्तिमान् परमप्रभुको नाउँ इन्साफद्वारा उच्च हुनेछ, र पवित्र परमेश्वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र देखाउनुहुनेछ। 17तब भेड़ाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्, र थुमाहरूलेचाहिँ धनीहरूका अवशेषका बीचमा खानेछन्।
18धिक्कार तिनीहरूलाई, जसले पापलाई छलका डोरीले र दुष्ट्याइँलाई गाड़ा तान्ने डोरीहरूले झैँ तानेर ल्याउँछन्, 19तिनीहरूलाई जसले भन्छन्, “परमप्रभुले छिट्टै गरून्, उहाँले आफ्नो काम चाँड़ो गरून् र हामी हेरौं। त्यो नजिक आओस्, इस्राएलका परमपवित्रको योजना पूरा होस्, र हामी थाहा पाउन सकौं।”
20धिक्कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्दछन्, जसले अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो मान्दछन् अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्ति लिन्छन्।
21धिक्कार तिनीहरूलाई, जो आफ्नै दृष्टिमा बुद्धिमान्, र आफ्नै नजरमा चलाक छन्। 22धिक्कार तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, र मद्य मिसाउनलाई निपुण छन्, 23जसले घूस लिएर दोषीहरूलाई छोड़िदिन्छन्, र निर्दोषहरूको ठीक न्याय गर्दैनन्।
24यसैकारण जसरी आगोको ज्वालाले पराललाई भस्म गर्दछ, र सुकेको घाँस ज्वालामा भस्म हुन्छ, त्यसै गरी तिनीहरूका जरा सड़ेर जानेछन्, र तिनीहरूका फूल धूलो उड़ेझैँ उड़ेर जानेछन्। किनभने तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको व्यवस्थालाई इन्कार गरेका छन्, र इस्राएलका परमपवित्रको वचनलाई हेला गरेका छन्। 25यसकारण परमप्रभुको रीस आफ्ना प्रजामाथि उठेको छ। उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा उठाउनुभएको छ, र तिनीहरूलाई हिर्काउनुहुन्छ। डाँड़ाहरू हल्लिन्छन्, र मानिसहरूका लाश सड़कमा कसिङ्गरझैँ छन्।
यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझैमाथि उठाइएकै छ।
26उहाँले टाढ़ाका जातिहरूका निम्ति एउटा झन्डा खड़ा गर्नुहुन्छ, उहाँले पृथ्वीका कुना-कुनामा बस्नेहरूलाई सुसेलीले बोलाउनुहुन्छ। तिनीहरू चाँड़ो र फूर्तिसित आउँछन्! 27तिनीहरूमध्ये कोही थाक्ने कि ठक्कर खानेछैनन्, कोही झुल्ने वा निदाउनेछैनन्। तिनीहरूका कम्मरको पटुका खुकुलो हुनेछैन, तिनीहरूका जुत्ताको फित्ता चुँड़िनेछैन। 28तिनीहरूका काँड़हरू तीखा-तीखा छन्, र धनुमा ताँदो चढ़ाएका हुनेछन्। तिनीहरूका घोड़ाका टाप चकमक ढुङ्गाजस्तै, र तिनीहरूका रथका चक्काहरू आँधीबेहरीजस्तै हुनेछन्। 29तिनीहरूको गर्जन सिंहको जस्तै छ, तिनीहरू जवान सिंहजस्तै गर्जन्छन्। तिनीहरूले शिकार समात्दा ङ्वारङ्वार गर्छन्। त्यसलाई तिनीहरूबाट छुटाउने कोही पनि हुनेछैन। 30त्यस दिन तिनीहरू समुद्र गर्जेझैँ त्यसमाथि गर्जनेछन्। यदि देशलाई कसैले हेर्यो भने, त्यहाँ अन्धकार र सङ्कष्ट मात्र त्यसले देख्नेछ, र उज्यालो पनि बादलले अँध्यारो पार्नेछ।
अहिले सेलेक्ट गरिएको:
यशैया 5: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012