यशैया 33:1-6

यशैया 33:1-6 NNRV

धिक्‍कार, तँ नाश गर्नेलाई, जो आफैचाहिँ नष्‍ट पारिएको छैनस्‌! तँ विश्‍वासघातीलाई, धिक्‍कार, जसलाई चाहिँ कसैले विश्‍वासघात गरेको छैन! जब तैंले नाश गर्न बन्‍द गर्छस्, तब तँ पनि नष्‍ट पारिनेछस्‌। जब तैंले विश्‍वासघात गर्न बन्‍द गर्छस्, तब तँलाई विश्‍वासघात गरिनेछ। हे परमप्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्‌। हामी तपाईंको चाहना गर्दछौं। बिहानैपिच्‍छे तपाईं हाम्रा शक्ति र दु:खमा हाम्रो उद्धार हुनुहोस्‌। तपाईंका सोरको गर्जनमा मानिसहरू भाग्‍छन्‌। तपाईं उठ्‌नुहुँदा जाति-जातिहरू छरपष्‍ट हुन्‍छन्‌। हे जाति-जातिका मानिस हो, तिमीहरूका लूटको कटनी ससाना सलहहरूले खाएझैँ हुनेछ। सलहहरूझैँ मानिसहरू त्‍यसमा झम्‍टिनेछन्‌। परमप्रभु उच्‍च हुनुभएको छ, किनकि उहाँ उच्‍चमा विराजमान हुनुहुन्‍छ। उहाँले सियोनलाई न्‍याय र धार्मिकताले परिपूर्ण पार्नुहुनेछ। तिमीहरूका समयको लागि उहाँ पक्‍का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्‍य भण्‍डार हुनुहुनेछ। परमप्रभुको भय मान्‍नु नै यस भण्‍डारको साँचो हो।