आमोस 9
9
इस्राएलको सर्वनाश
1मैले परमप्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखें, र उहाँले मलाई भन्नुभयो: “खम्बाका टुप्पा-टुप्पा हिर्का र सँघारहरू हल्लिऊन्। सबै मानिसहरूका शिरहरू काटिदे र बचेकाहरूलाई चाहिँ म तरवारले मार्नेछु। एकैजना पनि भाग्न पाउनेछैन, एक जना पनि उम्कन पाउनेछैन। 2तिनीहरूले चिहानको#9:2 हिब्रू: पातालको गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ। तिनीहरू माथि स्वर्गमा उक्ले तापनि म तिनीहरूलाई उँधो तानेर झार्नेछु। 3तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि म त्यहाँबाट खोजी-खोजीकन तिनीहरूलाई पक्रनेछु। तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि म तिनीहरूलाई डस्न सर्पलाई आज्ञा दिनेछु। 4तिनीहरू आ-आफ्ना शत्रुहरूद्वारा निर्वासित गरिए तापनि म तरवारलाई हुकुम गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ। भलाइको निम्ति होइन, तर खराबीको निम्ति म तिनीहरूमाथि नजर राख्नेछु।”
5सर्वशक्तिमान् परमप्रभु परमेश्वर उहाँ नै हुनुहुन्छ, जसले पृथ्वीलाई छुनुहुँदा त्यो पग्लन्छ, र त्यसमा हुने सबैले विलाप गर्छन्, र सारा देश नील नदीझैँ बढ्छ, अनि मिश्रको नदीझैँ घट्छ। 6उहाँ, जसले आकाशमाथि आफ्नो वासस्थान बनाउनुहुन्छ, र पृथ्वीमा यसको जग बसाल्नुहुन्छ, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनभरि खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो।
7“के तिमी इस्राएलीहरू होइनौ, जो मेरो निम्ति कूशका सन्तानजस्तै छौ?” परमप्रभु भन्नुहुन्छ। “के मैले इस्राएललाई मिश्रदेशदेखि, पलिश्तीहरूलाई कप्तोरदेखि,#9:7 अर्थात् क्रेटदेखि र अरामीहरूलाई कीरदेखि निकालेर ल्याएको होइनँ र?
8“परमप्रभुको नजर दुष्ट राज्यमाथि परेको छ। म त्यसलाई पृथ्वीदेखि नाश गर्नेछु, तापनि याकूबको घरानालाई म बिलकुलै सर्वनाश गर्नेछैनँ,” परमप्रभु भन्नुहुन्छ। 9“म आज्ञा गर्नेछु, र इस्राएलको घरानालाई समस्त जातिहरूका बीचमा अन्न नाङ्लोमा निफनेझैँ म चाल्नेछु, र एउटा सानो ढुङ्गाको टुक्रा पनि भूइँमा खस्नेछैन। 10‘विपत्ति हामीमाथि आइपर्नेछैन, न त हामीलाई त्यसले भेट्नेछ’ भन्ने मेरो प्रजामध्येका सबै पापीहरू तरवारले मारिनेछन्।
इस्राएलको पुनर्स्थापन
11“त्यस दिन म दाऊदको ढलेको वासस्थानलाई पुनर्स्थापन गर्नेछु, र त्यसका प्वालहरू मरम्मत गर्नेछु। अनि भत्केको अवस्थाबाट त्यसलाई म खड़ा गर्नेछु र अघिजस्तै गरी म त्यसलाई निर्माण गर्नेछु, #प्रे १५:१६-१८ 12ताकि तिनीहरूले एदोमको बाँकी रहेका, र मेरो नाउँ भएका सबै जाति-जातिलाई अधिकार गरून्।” यसै नै गर्नुहुने परमप्रभु घोषणा गर्नुहुन्छ।
13“यस्ता दिन आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब कटनी गर्नेलाई हलो जोत्नेले उछिन्नेछ, र बीउ छर्नेलाई दाख पेल्नेले उछिन्नेछ। पर्वतहरूबाट नयाँ दाखमद्य चुहुनेछ, र सबै डाँड़ाहरूबाट त्यो बग्नेछ। 14म मेरो निर्वासनमा गएका प्रजा इस्राएललाई फर्काएर ल्याउनेछु। ध्वंस भएका सहरहरूलाई तिनीहरूले फेरि निर्माण गरेर तिनमा वास गर्नेछन्। तिनीहरूले दाखबारीहरू लगाएर तिनका दाखमद्य पिउनेछन्। तिनीहरूले बगैँचाहरू बनाएर तिनका फलहरू खानेछन्। 15म इस्राएललाई तिनीहरूकै देशमा कहिल्यै नउखेलिने गरी बसाल्नेछु, जुन देश मैले तिनीहरूलाई दिएको छु,” परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
आमोस 9: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012