प्रेरित 14:1-20

प्रेरित 14:1-20 NNRV

अब आइकोनियनमा तिनीहरू एकसाथ यहूदीहरूको सभाघरमा पसेर यस्‍तो किसिमले बोले, कि यहूदीहरू र ग्रीकहरूको ठूलो दलले विश्‍वास गर्‍यो। तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ अन्‍यजातिहरूलाई भड्‌काएर भाइहरूका विरुद्ध उनीहरूको मन तीतो पारिदिए। प्रभुको भरोसामा साहससँग बोल्‍दै धेरै समयसम्‍म पावल र बारनाबास त्‍यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्‍हहरू र अचम्‍मका कामहरू गराईकन आफ्‍नो अनुग्रहका वचनको गवाही दिनुभयो। तर सहरका मानिसहरूमा फाटो हुन गयो, र कोही यहूदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे। अन्‍यजाति र यहूदीहरू दुवैले उनीहरूका शासकहरूसँग मिलेर तिनीहरूलाई सताउने र ढुङ्गा हान्‍ने प्रयत्‍न गरे। तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्‍त्रा, डर्बी र छेउछाउका जिल्‍ला हुँदो भागेर गए, र त्‍यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिनैरहे। अब लुस्‍त्रा सहरमा खुट्टा चलाउन नसक्‍ने एक जना मानिस बसिरहेको थियो। त्‍यो जन्‍मैको लङ्गड़ो थियो, र कहिल्‍यै हिँड़ेको थिएन। पावलले बोलेको त्‍यसले सुन्‍दैथियो। पावलले त्‍यसलाई एकटक लगाएर हेरे, र निको हुने त्‍यसको विश्‍वास छ भन्‍ने देखिकन ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्‍यो जुरुक्‍क उठ्यो र हिँड्‌न लाग्‍यो। जब पावलले गरेको यो काम भीड़ले देख्‍यो, तब तिनीहरूले लुकोनियाको भाषामा उच्‍च सोरले यसो भने, “देवहरू मान्‍छेको रूपमा हामीकहाँ ओर्लेर आएछन्‌।” तिनीहरूले बारनाबासलाई जिउस देवता र पावललाई हर्मेस देवता भन्‍न लागे, किनकि यिनीचाहिँ मुख्‍य वक्ता थिए। सहरको अगिल्‍तिर भएको जिउसको मन्‍दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्‍याएर त्‍यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्‍छा गरे। तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्‍नो वस्‍त्र च्‍याती यसो भन्‍दै कराएर मानिसहरूका बीचमा दौड्‌दैगए र भने, “मानिसहरू हो, तपाईंहरू किन यस्‍तो काम गर्नुहुन्‍छ? हामी पनि त तपाईंहरूजस्‍तै दुःख-सुख भोग्‍ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्‍यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्‍वरले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो। उहाँले अघि बितिसकेका पुस्‍तामा सब जातिहरूलाई आ-आफ्‍नै रीतिअनुसार चल्‍न दिनुभयो। तापनि उहाँले आफूलाई गवाहीविना छोड्‌नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्‍वर्गबाट पानीको झरी र फलवन्‍त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्‍दले सन्‍तुष्‍ट पार्नुभयो।” यी कुरा भनेर तिनीहरूले मुश्‍किलले तिनीहरूलाई बलि-पूजा चढ़ाउनबाट ती मानिसहरूलाई रोके। तर कुनै-कुनै यहूदीहरू एन्‍टिओखिया र आइकोनियनबाट त्‍यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान्‌ भन्‍ठानेर सहरदेखि बाहिर घिस्‍स्‍याएर लगे। तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे, अनि सहरभित्र पसे, र भोलिपल्‍ट बारनाबाससँग निस्‍केर डर्बीमा गए।

प्रेरित 14:1-20 को लागि भिडियो