२ इतिहास 8
8
सोलोमनका अरू कार्यहरू
1परमप्रभुको मन्दिर र आफ्नो राजमहल निर्माण गर्न सोलोमनलाई बीस वर्ष लाग्यो। #१ राज ९:१०-२८ 2हीरामले तिनलाई दिएका सहरहरू सोलोमनले पुनर्निर्माण गरेर तिनमा इस्राएलीहरूलाई बसाले। 3तब सोलोमन हमात-सोबामा गएर त्यो कब्जा गरे। 4अनि उजाड़-स्थानको तदमोर र हमातमा तिनले बनाएका भण्डार राख्ने सबै सहरहरूलाई पुनर्निर्माण गरे। 5तिनले माथिल्लो र तल्लो बेथ-होरोनलाई पर्खालले घेरे, र आग्ला लाएका मूल ढोकाहरू बनाएर सुरक्षित सहरहरू निर्माण गरे। 6तिनले बालात र तिनका भण्डार राख्ने सबै सहरहरू, र आफ्ना रथहरू र घोड़ाहरू राख्ने सबै नगरहरू बनाए। यरूशलेममा, लेबनानमा र आफ्ना सारा राज्यभरि आफैले इच्छा गरेका परियोजनाअनुसार तिनले सहरहरू बनाए।
7हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू (यी मानिसहरू इस्राएलका थिएनन्), 8अर्थात् देशमा भएका उनीहरूका सन्तान-दरसन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्— उनीहरूलाई सोलोमनले बेगारी काममा लाए, र उनीहरू आजको दिनसम्मै त्यस्तै छन्। 9तर सोलोमनले कुनै पनि इस्राएलीलाई आफ्नो सरकारी कामको निम्ति बेगारी काममा लगाएनन्। तिनीहरूचाहिँ तिनका कप्तानहरू र रथ र सारथिहरूका सेनापतिहरू भए। 10अनि तिनीहरू मानिसहरूको हेरविचार गर्ने सोलोमन राजाका मुख्य अधिकारीहरू भए— दुई सय पचास जना।
11सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्ति बनाएको महलमा ल्याए। तिनले भने, “इस्राएलका राजा दाऊदको महलमा मेरी पत्नी बस्नेछैन, किनभने परमप्रभुको सन्दूक भित्र्याइएका ठाउँहरू पवित्र छन्।”
12सोलोमनले दलानको अगाड़िपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्ति होमबलि चढ़ाउने गरे। 13मोशाको आज्ञाबमोजिम शबाथ, औंसी र वर्षेनी तीन पल्ट चढ़ाउने चाड़हरू, अर्थात् अखमिरी रोटीको चाड़, साताहरूको चाड़ र छाप्रो-वासको चाड़ हरेक दिन चढ़ाउनुपर्नेअनुसार तिनले चढ़ाउने गरे। #प्रस २३:१४-१७; ३४:२२-२३; गन्ती २८:९; २९:३९; व्य १६:१६ 14आफ्ना पिता दाऊदको विधिअनुसार चलेर प्रतिदिन चाहिँदो कामबमोजिम पूजाहारीका दलहरूलाई आफ्नो सेवा गर्न र लेवीहरूलाई चाहिँ स्तुतिगानको अगुवाइ गर्न र पूजाहारीहरूको काममा सहायता दिन तिनले नियुक्त गरे। द्वारपालहरूलाई आफ्ना दल-दलअनुसार प्रत्येक मूल ढोकामा रहन तिनले नियुक्त गरे, किनभने परमेश्वरका जन दाऊदले दिएको आज्ञा यस्तै थियो। 15पूजाहारीहरू र लेवीहरूलाई अनि राजकोषसम्बन्धी विषयमा दाऊदले दिएका आज्ञा तिनीहरूले भुलेनन्।
16परमप्रभुका मन्दिरको जगदेखि लिएर त्यो नसिद्ध्याउञ्जेलसम्म सोलोमनका सबै काम भइरहेका थिए। यसरी परमप्रभुको मन्दिर निर्माण गरिएको थियो।
17त्यसपछि सोलोमन एदोमको किनारमा भएको एस्योन-गेबेर र एलातमा गए। 18अनि हीरामले आफ्ना अधिकृतहरूको अधीनमा रहेका जहाजहरू र अनुभवी नाविकहरूलाई पठाइदिए। अनि यिनीहरू सोलोमनका सेवकहरूका साथमा ओपीरमा गएर सोह्र टन सुन ल्याएर सोलोमन राजालाई दिए।
अहिले सेलेक्ट गरिएको:
२ इतिहास 8: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012