२ इतिहास 22

22
यहूदाका राजा अहज्याह
1यरूशलेमका बासिन्‍दाहरूले तिनको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा तुल्‍याए, किनभने आक्रमणमा अरबीहरूसित मिलेका लूटपीट गर्नेहरूले तिनका सबै ठूला छोराहरूलाई मारेका थिए। यसैकारण यहोरामका छोरा अहज्‍याह यहूदाका राजा भए। #२ राज ८:२५-२९; ९:२१-२८
2राजगद्दी आरोहण गर्दा तिनी बाईस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अतल्‍याह थियो। तिनी ओम्रीकी नातिनी अतल्‍याह थिइन्‌।
3तिनी पनि आहाबको घरानाका चालमा हिँड़े, किनभने दुष्‍ट काम गर्नलाई तिनकी आमाले तिनलाई सल्‍लाह दिन्‍थिन्‌। 4आहाबको घरानाले गरेझैँ तिनले पनि परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, किनकि तिनका पिताको मृत्‍युपछि तिनीहरू तिनको पतन गराउने सल्‍लाहकारहरू थिए। 5रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्न तिनले इस्राएलका राजा आहाबका छोरा योरामसित मित्रता बाँध्‍न तिनीहरूको सल्‍लाह लिए। तर अरामीहरूद्वारा योरामले चोट पाए, 6र रामोतमा अरामका राजा हजाएलसँग भएको लड़ाइँमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए।
तब यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।
7परमप्रभुको इच्‍छाअनुसार योराम र अहज्‍याहको भेटको अवसर नै योरामको पतनको कारण भयो। यही भेटको समयमा अहज्‍याह योरामसँग निम्‍शीका छोरा येहूलाई भेट गर्न गए। आहाबको घरानालाई नाश गर्न परमप्रभुले येहूलाई नै नियुक्त गर्नुभएको थियो। 8येहूले आहाबको घरानामाथि न्‍यायको दण्‍ड लगाउँदा, अहज्‍याहको सेवा गर्ने यहूदाका राजकुमारहरू र तिनका कुटुम्‍बका छोराहरूलाई भेट्टाएर येहूले मारे। 9त्‍यसपछि तिनले अहज्‍याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई सामरियामा फेला पारे। तिनीहरूले अहज्‍याहलाई येहूकहाँ ल्‍याएर मारे। “आफ्‍नो पूरा हृदयले परमप्रभुको अगुवाइ खोज्‍ने तिनै यहोशापातका छोरा यिनी हुन्‌” भनेर तिनीहरूले तिनलाई गाड़िदिए। त्‍यसपछि अहज्‍याहका घरानाको कोही पनि राज्‍य गर्न शक्तिशाली भएन।
अतल्‍याह र योआश
10जब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तब यहूदाका सारा राजकीय घरानालाई नाश गर्न तिनी निस्‍किन्‌। #२ राज ११:१-३ 11तर यहोराम राजाकी छोरी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्‍क भगाएर लगिन्, र त्‍यसकी धाई र त्‍यसलाई एउटा सुत्‍ने कोठाभित्र लुकाइराखिन्‌। यहोराम राजाकी छोरी र पूजाहारी यहोयादाकी पत्‍नी यहोशेबा अहज्‍याहकी दिदी भएकी हुनाले तिनले योआशलाई अतल्‍याहको हातबाट लुकाइराखिन्, र अतल्‍याहले त्‍यसलाई मार्न पाइनन्‌। 12अतल्‍याहले देशमा राज्‍य गर्दा योआश तिनीहरूसितै परमप्रभुको मन्‍दिरमा छ वर्षसम्‍म लुकेर बसे।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 22: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्