१ कोरिन्थी 2:1-10

१ कोरिन्थी 2:1-10 NNRV

भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्‍वरका गवाहीको घोषणा गर्दै आइनँ। किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्‍ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्‍ने नै मैले निश्‍चय गरेको थिएँ। म तिमीहरूकहाँ दुर्बलतामा र ज्‍यादै डर र कम्‍पसाथ आएँ। मेरो उपदेश र सन्‍देश घतलाग्‍दो र बुद्धिपूर्ण शब्‍दमा थिएन, तर पवित्र आत्‍माको र शक्तिको प्रदर्शनमा थियो, ताकि तिमीहरूको विश्‍वास मानिसको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्तिमा आधारित होस्‌। तापनि परिपक्‍व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्‍चय बितिजानेछ। तर हामी परमेश्‍वरको गुप्‍त र लुकेको बुद्धिको प्रचार गर्दछौं, जो युगयुगअघि हाम्रो महिमाको निम्‍ति परमेश्‍वरले नियुक्त गरिदिनुभयो। यस युगका कुनै पनि शासकहरूले त्‍यो कुरा बुझेनन्‌। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्‍ने नै थिएनन्‌। तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।” परमेश्‍वरले हाम्रा निम्‍ति पवित्र आत्‍माद्वारा त्‍यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्‍माले प्रत्‍येक कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्‍छ।