तर यदि याहवेहले पूर्णतया अनौठो कुरा ल्याउनुभयो, र धर्ती फाटेर त्यसले तिनीहरूलाई र तिनीहरूसँग भएका सबैलाई निलिहाल्यो भने, र तिनीहरू जिउँदै पातालभित्रै गए भने यी मानिसहरूले याहवेहलाई तिरस्कार गरेका रहेछन् भनी तिमीहरूले जान्नेछौ।”
मोशाले यी कुराहरू भनिसक्नसाथ तिनीहरू उभिएको जमिन फाट्यो। अनि धर्तीले आफ्नो मुख खोल्यो, र तिनीहरूलाई, तिनीहरूका घरानाहरू र कोरहलाई साथ दिने सबैलाई अनि तिनीहरूका सबै धनसम्पत्ति समेत निलिहाल्यो।