YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

नहूम 1

1
1 # यशैया 10:5-34; 14:24-27; सपन्‍याह 2:13-15 यो एल्‍कोशबाट आएका नहूमले निनवेबारे देखेका दर्शनको अगमवाणी हो।
निनवेमाथि परमप्रभुको क्रोध
2परमप्रभु परमेश्‍वरले आफ्‍ना विरोधीहरूलाई सहनुहुन्‍न,
उहाँको विरोध गर्नेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ।
उहाँले आफ्‍नो क्रोधमा तिनीहरूसित बदला लिनुहुन्‍छ।
3परमप्रभु छिट्टै रिसाउनुहुन्‍न,
तर उहाँ शक्तिशाली हुनुहुन्‍छ
र अपराधीहरूलाई दण्‍ड नदिई छोड्‍नुहुन्‍न।
परमप्रभु हिँड्‍ने बाटोमा आँधी चल्‍दछ,
बादलहरूचाहिँ उहाँको खुट्टाले उडाएको धुला हुन्!
4उहाँले आज्ञा दिनुहुँदा समुद्र सुकिजाँदछ,
उहाँले नदीहरू सुकाइदिनुहुँदछ।
बाशानका मैदानहरू ओइलिजाँदछन्,
कर्मेल डाँडा सुकेर पहेंलो हुँदछ
र लेबनानका फूलहरू ओइलिजान्‍छन्।
5परमप्रभुको अघि पर्वतहरू
काँप्‍दछन्,
उहाँको अघि डाँडाहरू पग्‍लन्‍छन्।
परमप्रभु देखा पर्नुहुँदा पृथ्‍वीमा भूइँचालो जान्‍छ,
संसार र त्‍यहाँका सबै मानिसहरू थरथरी हुँदछन्,
6उहाँ रिसाउनुहुँदा को बाँच्‍न सक्‍छ र?
उहाँको डरलाग्‍दो रिसअघि को टिक्‍न सक्‍छ?
उहाँले आफ्‍नो बल्‍दो रिस खन्‍याउनुहुन्‍छ,
उहाँको सामुन्‍ने चट्टानहरू चकनाचुर हुन्‍छन्।
7परमप्रभु भलो हुनुहुन्‍छ, कष्‍टको समयमा उहाँ आश्रय हुनुहुन्‍छ,
उहाँमा शरण लिनेहरूको उहाँले वास्‍ता गर्नुहुन्‍छ।
8तर उर्लंदो बाढले झैँ उहाँले आफ्‍ना शत्रुहरूलाई पूरै नाश गर्नुहुन्‍छ,
आफ्‍ना विरोधीहरूलाई उहाँले मृत्‍युको मुखमा हालिदिनुहुन्‍छ।
9परमप्रभुको विरुद्धमा तिमीहरू के जाल रच्‍दछौ?
उहाँले तिमीहरूलाई नाश गर्नुहुनेछ
र कसैले दोस्रोपल्‍ट उहाँको सामना गर्न सक्‍दैन।
10गाँठो परेका काँडा र सुकेको परालझैँ मतवालाहरू हो!
तिमीहरू आगोमा डढेर भस्‍म पारिनेछौ।
11हे निनवे, दुष्‍ट जुक्‍तिहरू लिएर एक जना मानिस तँबाट निस्‍किआयो र त्‍यसले परमप्रभुको विरुद्धमा जाल रच्‍यो। 12परमप्रभुले आफ्‍ना प्रजा इस्राएललाई यसो भन्‍नुहुन्‍छ, “अश्‍शूरीहरू बलिया र सङ्ख्‍यामा धेरै भए पनि तिनीहरू नष्‍ट पारिनेछन् र लोप हुनेछन्। मेरा प्रजा हो! मैले तिमीहरूलाई कष्‍ट दिएँ तर म फेरि त्‍यसो गर्नेछैनँ। 13अब म तिमीहरूमाथि भएको अश्‍शूरीहरूको शक्ति शेष गर्नेछु र तिमीहरूलाई बाँधेका सङ्लाहरू चुँडाइदिनेछु।”
14अश्‍शूरीहरूबारे परमप्रभुले यस्‍तो हुकुम दिनुभएको छ, “तिनीहरूको कोही सन्‍तान रहनेछैन र तिनीहरूको नाम मेटिनेछ। तिनीहरूका देवताहरूका मन्‍दिरहरूमा भएका मूर्तिहरू म नाश पार्नेछु। अश्‍शूरीहरूको निम्‍ति म एउटा चिहान तयार पार्दै छु किनभने तिनीहरू बाँच्‍न योग्‍य छैनन्।”
15 # यशैया 52:7 हेर, खुसीको खबर ल्‍याएर पहाड पार गरी एउटा सन्‍देशवाहक आउँदै छ। त्‍यो सुख-शान्‍तिको खबर सुनाउन आउँदै छ। हे यहूदाका मानिसहरू हो! तिमीहरू आफ्‍ना चाड-पर्वहरू मनाओ र भाकलअनुसार परमेश्‍वरलाई भेटी चढाओ। ती दुष्‍टहरूले फेरि कहिल्‍यै तिमीहरूका देशमाथि हमला गर्नेछैनन्। तिनीहरू पूरा गरी नष्‍ट भएका छन्!

လက္ရွိေရြးခ်ယ္ထားမွု

नहूम 1: सरल नेपाली

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ