मीका 4
4
परमप्रभुको शासन र विश्व शान्ति
(यशैया २:२-४)
1आउँदा दिनहरूमा मन्दिर बनिएको डाँडा सबैभन्दा अग्लो र उच्च हुनेछ। धेरै जातिहरू ओइरिएर त्यहाँ आउनेछन्,
2अनि ती मानिसहरूले भन्नेछन्, “हामी परमप्रभुको पर्वत उक्लेर इस्राएलका परमेश्वरको मन्दिरमा जाऔँ
किनकि उहाँले हामीलाई हामीले गर्नुपर्ने काम सिकाइदिनुहुनेछ। उहाँले खटाउनुभएको बाटोमा हामी हिंड्नेछौं
किनभने परमप्रभुका शिक्षा यरूशलेमबाट आउँछ र सियोनबाट वचन फैलिनेछ र उहाँ आफ्ना प्रजासँग बोल्नुहुन्छ।”
3 #
यशैया 2:4; योएल 3:10 उहाँले जाति-जातिहरूका बीच र टाढा-नजिकका बलिया जातिहरूका बीच मुद्दा-मामिलाहरू छिनाफाना गर्नुहुनेछ।
तिनीहरूले आ-आफ्ना तरवारहरू पिटेर हलोको फालीहरू र भालाहरू पिटेर हसिंयाहरू बनाउनेछन्।
जाति-जातिहरूका बीच फेरि लडाइँ हुनेछैन,
तिनीहरूले फेरि कहिल्यै युद्धको तयारी गर्नेछैन।
4 #
जकरिया 3:10
हरेक मानिस आफ्नो दाखको बोट र आफ्नो नेभाराको बोटमुनि शान्तिसँग बस्नेछ
र कसैले तिनीहरूलाई डर देखाउनेछैन
किनकि सर्वशक्तिमान् परमप्रभुले नै यस्तो प्रतिज्ञा गर्नुभएको छ।
5हरेक जातिले आफ्नै देवताको पूजा गर्ला र आज्ञा मान्ला तर हामीचाहिँ आफ्ना परमप्रभु परमेश्वरलाई सधैँभरि पुज्नेछौं अनि उहाँको आज्ञापालन गर्नेछौं।
कैदबाट इस्राएलीहरू फर्कन्छन्
6परमप्रभु भन्नुहुन्छ, “त्यो समय आउँदै छ मैले दण्ड दिएका र कैदमा दु:ख भोगेका मानिसहरूलाई एकसाथ भेला गर्नेछु। 7ती लङ्गडा भएका र घरदेखि लखेटिएकाहरूमध्ये बाँकी रहेकाहरूबाट म एउटा नयाँ सुरूवात गर्नेछु र तिनीहरू एउटा महान् जाति बन्नेछन्। त्यस उप्रान्त सदासर्वदा सियोन पर्वतमा म तिनीहरूमाथि राज्य गर्नेछु।”
8ए यरूशलेम! गोठालाले मचानबाट भेडा हेरेझैँ परमेश्वरले आफ्नो प्रजालाई हेर्नुहुनेछ र फेरि एकपल्ट आफैं राज्यको राजधानी सहर बन्नेछस्। 9तँ किन यसरी चिच्याएर रुन्छस्? स्त्रीले सुत्केरी हुने पीडा पाएझैँ तँ किन कष्ट भोग्छस्? के तेरो कोही राजा नभएकोले वा तेरा सल्लाहकारहरूको मृत्यु भएको हुनाले त्यसो भएको हो? 10यरूशलेमका निवासीहरू हो! एउटी सुत्केरी हुन लागेकी स्त्रीझैँ, तिमीहरू बटारिंदै पीडाले चिच्याओ किनभने अब तिमीहरूले सहर छोड्नुपर्नेछ र खुला मैदानमा गएर बास गर्नुपर्नेछ। तिमीहरू बेबिलोनमा जानुपर्नेछ तर त्यहाँ परमप्रभुले तिमीहरूलाई शत्रुहरूका हातबाट उद्धार गर्नुहुनेछ। 11तिमीहरूमाथि हमला गर्न धेरै जातिहरू भेला भएका छन्। तिनीहरू भन्छन्, “यरूशलेम नाश गरिनैपर्छ। हामी त्यो ध्वंस भएको नहेरी छोड्नेछैनौं।” 12तर परमप्रभुको मनमा के विचार छ, यी जातिहरूले जान्दैनन्। जसरी दाइँ गर्न खलामा अन्न बटुलिन्छ, त्यसरी नै दण्ड दिन तिनीहरूलाई भेला गरिएको हो भनी तिनीहरू बुझ्दैनन्।
13परमप्रभु भन्नुहुन्छ, “हे यरूशलेमका बासिन्दाहरू हो! गएर अब दाइँ गर म तिमीहरूलाई फलामका सिङ र काँसाका खुर भएका साँढेझैँ बलियो बनाउनेछु। धेरै जातिहरूलाई तिमीहरूले चकनाचुर पार्नेछौ र तिनीहरूले हिंसा गरेर कमाएको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”
Pašlaik izvēlēts:
मीका 4: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.