उत्पत्तिको पुस्तक 34
34
दीनाको बलात्कार
1दीना याकूब र लेआकी छोरी थिइन्। एक दिन दीना त्यस देशकी स्त्रीहरू हेर्न बाहिर गइन्। 2त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो। 3शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो। 4शकेमले आफ्नो बाबुलाई भने, “दया गरी यस केटीलाई हासिल गर्नु होस् म यससित विवाह गर्नु सकूँ।”
5याकूबले थाहा पायो शकेमले उसकी छोरीसित खुबै नराम्रो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्। 6त्यस समय शकेमका बाबु हमोर याकूबसित कुरा गर्न गए।
7जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शकेमले यस्तो कामगरेका थियो जो इस्राएलमा गर्नु हुँदैन थियो। शकेमको घृणात्मक कार्य सुनेर सबै दाज्यू-भाइहरू खेतबाट बाहिर निस्किए।
8तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्। 9यस विवाहले बुझाउँछ हामीमाझ एउटा विशेष सम्झौता भएको छ। त्यसपछि हाम्रा मानिसहरूले तिमीहरूका छोरीहरू विवाह गर्न सक्छन् अनि त्यसरी नै तिम्रा मानिसहरूले हाम्रा छोरीहरू विवाह गर्न सक्छन्। 10तिमीहरू हामीसितै यसै भूमिमा बस्न सक्छौ। तिमीहरू जमीनको मालिक हुन सक्छौ र स्वतत्र रूपले व्यापार गर्न सक्छौ।”
11शकेमले पनि याकूब अनि तिनका छोराहरूसित कुरा गर्यो। उनले भने, “दया गरी मलाई ग्रहण गर्नु होस् अनि तपाईहरूले भनेका कुरा म जेपनि गर्नेछु। 12यदि तपाईहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईहरूले मागेको उपहार दिनेछु। तपाईहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।”
13शकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झूटो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शकेमले आफ्नी बहिनी दीनासित साह्रै घिनलाग्दो कुकर्म गरेको थियो। 14यसर्थ ती दाज्यू-भाइहरूले शकेमलाई भने, “हामी हाम्री बहिनीसित तिमीलाई विवाहको अनुमति दिन सक्तैनौ कारण तिमी अझसम्म खतना गरिएका छैनौ। हाम्री बहिनीको तिमीसित विवाह गर्नु एउटा भूल कर्म हुनेछ। 15तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौं यदि तिमीले यो काम गर्यौं भने तिम्रा शहरका प्रत्येक पुरूषहरू हामी जस्तै खतना गरिनु पर्छ। 16त्यसपछि तिम्रा पुरूषहरूले हामीहरूका छोरी विवाह गर्न सक्छन् अनि हाम्रा पुरूषहरूले पनि तिमीहरूका छोरीसँग विवाह गर्न सक्छन्। तब हामी एक हुनेछौं। 17यदि खतना गराउन अस्वीकार गरे दीनालाई हामी लैजानेछौं।”
18यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए। 19दीनाका दाज्यूहरूले भनेको कुरामा शकेम साह्रै खुशी भयो।
आफ्नो परिवारमा शकेम अति आदरणीय मानिस थियो। 20हमोर र शकेम शहरको समावेश स्थलमा गए। तिनीहरूले शहरवासीहरूसित कुरा गरे र भने, 21“यी मानिसहरू हामीसित मैत्रीपूर्ण छन्, तिनीहरूलाई हामीहरूमाझ बस्न अनि व्यापार गर्न दिऊँ। जहाँसम्म भूमिको कुरा छ, हेर, हामी सबैको लागि यो धेरै नै छ। हामी तिनीहरूकी छोरीहरूलाई हाम्री पत्नीहरू बनाऊँ अनि हाम्री छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिऊँ। 22तर एउटा कुरो छ जो हाम्रा सबै मानिसहरूले मान्नु पर्छ। हाम्रा सबै मानिसहरू इस्राएलीहरू जस्तै खतना गराउनु राजी हुनु पर्छ। 23यदि हामीले यसो गरे तिनीहरूका गाई-वस्तुले गर्दा हामी धनी हुनेछौं। यसर्थ हामीले तिनीहरूसित यस्तो सम्झौता गर्नु पर्छ जसले गर्दा तिनीहरू यहाँ हामीसित बस्न सकुन्।” 24सबै मानिसहरू जसले हमोर र शकेमबाट त्यस समावेश स्थलमा ती कुरा सुने, सबैले माने। अनि सबै मानिसहरूको खतना गरियो।
25तीन दिन पछि खतना गरिएका मानिसहरूको घाउ भयो। याकूबका दुइजना छोरा, शिमोन अनि लेवीले बुझे तिनीहरू दुर्वल भएका छन्। यसर्थ तिनीहरूले शहरमा गए अनि सबै मानिसहरूलाई मारिदिए। 26दीनाका दाज्यूहरू शिमोन र लेवीले हमोर र उसको छोरो शेकमलाई पनि मारे अनि शेकमको घरबाट दीनालाई निकाले अनि लिएर गए। 27याकूबका छोराहरू शहरमा गए अनि त्यहाँ भएको प्रत्येक चीज चोरे। शकेमले तिनीहरूकी बहिनीमाथि गरेको कुरोले तिनीहरूको अझै रीस मरेको थिएन। 28गधाहरू तथा शहरमा र खेतमा जे जति थिए प्रत्येक चीज लगे। 29ती दाज्यू-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे।
30तर याकूबले शिमोन र लेवीलाई भने, “तिमीहरूले मलाई साह्रै कष्ट दियौ। यहाँ सबै मानिसहरूले मलाई घृणा गर्नेछन्। सबै कनानी र परिज्जी मानिसहरू मेरो विरूद्धमा हुनेछन्। हामीहरूको संख्या यहाँ कम्ती छ, यदि यहाँका मानिसहरू हामीसित लड्न भेला भए भने हामीहरू ध्वंश हुनेछौ। अनि मसँग भएका सबै हाम्रा मानिसहरू ध्वंश हुनेछन्।”
31तर ती दाज्यू-भाइहरूले भने, “के तिनीहरूले हाम्री बहिनीलाई वेश्या जस्तै व्यवहार गरून्? अँहँ, हाम्री बहिनीलाई त्यस्तो व्यवहार गर्नु तिनीहरूको अन्याय थियो।”
Actualmente seleccionado:
उत्पत्तिको पुस्तक 34: NERV
Destacar
Copiar
Comparar
Compartir
¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International