لۆگۆی یوڤێرژن
ئایکۆنی گەڕان

उत्‍पत्ति पुस्तक परिचय

पुस्तक परिचय
उत्‍पत्तिको अर्थ हो, ‘जन्‍म वा सुरु।’ यस पुस्‍तकले जगत्‌को सृष्‍टि, मानवजातिको प्रारम्‍भ, पापको सुरु र संसारमा कष्‍ट र पीडाको जन्‍म अनि परमेश्‍वरले मानवजातिसित गर्नुभएको व्‍यवहारबारे बताउँदछ। उत्‍पत्तिको पुस्‍तकलाई दुई भागमा बाँड्‍न सकिन्‍छ:
1) १-११ अध्‍याय– संसारको सृष्‍टि र मानवजातिको सुरुको इतिहास। यसमा आदम र हव्‍वा, कयिन र हाबिल, नोआ र जलप्रलय र बाबेलको धरहराबारे लेखिएको छ।
२) २-५० अध्‍याय– इस्राएलीहरूका आदि पुर्खाको इतिहास। तिनीहरूका पहिलो पुरुष अब्राहाम हुन्, जसको परमेश्‍वरप्रतिको भरोसा र आज्ञाकारिता प्रसिद्ध छ। त्‍यसपछि तिनका छोरा इसहाक र नाति याकूब (जसलाई ‘इस्राएल’ पनि भनिन्‍छ), याकूबका बाह्र छोराहरू, जसले इस्राएलका बाह्र कुल खडा गरे, तिनका कथाहरू पाइन्‍छन्। ती बाह्र छोराहरूमध्‍ये योसेफ र तिनीसँग भएका घटनाहरू, जसले गर्दा याकूब तिनका अरू छोराहरू परिवारसहित मिश्रदेशमा बसाइँ सरे, तीबारे विशेष बयान छ।
यस पुस्‍तकमा मानिसहरूको कथा भए पनि यसमा सर्वप्रथम परमेश्‍वरले के-कसो गर्नुभयो भन्‍ने कुराको बयान छ। परमेश्‍वरले जगत् रच्‍नुभयो भनी ठोकुवा गरेर भन्‍दै यो सुरु हुन्‍छ अनि परमेश्‍वरले आफ्‍ना प्रजाका हितको चिन्‍ता गरिरहनुहुन्‍छ भन्‍ने करारका साथ यसको अन्‍त्‍य हुन्‍छ। सम्‍पूर्ण किताबका मुख्‍य पात्र परमेश्‍वर हुनुहुन्‍छ। उहाँले दुष्‍टता गर्नेहरूको न्‍याय गरी तिनीहरूलाई सजाय दिनुहुन्‍छ, आफ्‍नो प्रजालाई अगुवाइ गरी मद्दत गर्नुहुन्‍छ र तिनका इतिहासको रूप तयार गर्नुहुन्‍छ। मानिसहरूको विश्‍वासको लेखा राख्‍दै त्‍यस विश्‍वासलाई जिउँदो राख्‍ने उद्देश्‍यले यो धेरै पुरानो पुस्‍तक लेखिएको हो।
संक्षिप्‍त विषय-सूची
सारा जगत् र मानिसको सृष्‍टि १:१—२:२५
पाप र पीडाको सुरु ३:१-२४
आदमदेखि नोआ ४:१—५:३२
नोआ र जलप्रलय ६:१—१०:३२
बाबेलको धरहरा ११:१-९
शेमदेखि अब्राहाम ११:१०-३२
कुल-पिताहरू– अब्राहाम, इसहाक र याकूब १२:१—३५:२९
एसावका सन्‍तान ३६:१-४३
योसेफ र तिनका दाजुभाइहरू ३७:१—४५:२८
इस्राएलीहरू मिश्रदेशमा ४६:१—५०:२६

بەرچاوکردن

هاوبەشی بکە

لەبەرگرتنەوە

None

دەتەوێت هایلایتەکانت بپارێزرێت لەناو ئامێرەکانتدا> ? داخڵ ببە