गन्ती 17

17
हारूनको लहुरोमा कोपिला लागेको
1याहवेहले मोशालाई भन्‍नुभयो, 2“इस्राएलीसँग कुरा गर्, र तिनीहरूका पुर्ख्यौली कुलका प्रत्येक अगुवाबाट एक-एक गरी तिनीहरूबाट बाह्र वटा लहुराहरू लिनू। प्रत्येक मानिसको नाम त्यसको लहुरोमा लेख्नू। 3लेवीको लहुरोमा चाहिँ हारूनको नाम लेख्नू। किनकि प्रत्येक पुर्ख्यौली कुलको अगुवाको निम्ति एक-एक वटा लहुरो हुनुपर्छ। 4लहुराहरूलाई भेट हुने पालमा साक्षी पाटीको सन्दुकको सामु राखिदिनू, जहाँ म तँसँग भेट गर्छु। 5म जुन मानिसको लहुरोलाई रोज्नेछु, त्यसमा कोपिला लाग्नेछ। अनि तेरो विरुद्धमा इस्राएलीहरूले गर्ने सधैँको गनगनबाट म तँलाई मुक्त गर्नेछु।”
6यसकारण मोशाले इस्राएलीहरूसँग कुरा गरे। अनि तिनीहरूका अगुवाहरूले तिनीहरूका प्रत्येक पुर्ख्यौली कुलबाट एक-एक गरी बाह्र वटा लहुराहरू तिनलाई दिए। तीमध्ये हारूनको पनि एउटा लहुरो थियो। 7मोशाले ती लहुराहरू साक्षी पाटीको सन्दुकको पालमा याहवेहको सामु राखिदिए।
8भोलिपल्ट मोशा पालभित्र पसे। लेवीको घरानालाई प्रतिनिधित्व गर्ने हारूनको लहुरोमा टुसा पलाएको मात्र थिएन, तर त्यसमा कोपिला लागेर फूल पनि फुलेर हाडे-बदामसमेत फलेको देखे। 9त्यसपछि मोशाले ती लहुराहरू याहवेहको उपस्थितिबाट सबै इस्राएलीहरूकहाँ ल्याए। तिनीहरूले ती लहुराहरू हेरे। अनि हरेक अगुवाहरूले आ-आफ्नो लहुरो लिए।
10त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनको लहुरो विद्रोहीहरूको चिन्हको रूपमा रहोस् भनी पालमा साक्षी पाटीको सन्दुकको सामु लगेर राखिदे। यसले मेरो विरुद्धमा तिनीहरूको गनगन समाप्‍त गरिदिनेछ। यसकारण तिनीहरू मर्नेछैनन्।” 11याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार तिनले गरे।
12इस्राएली मानिसहरूले मोशालाई भने, “हामी मर्नेछौँ! हामी नष्‍ट भयौँ; हामी नष्‍ट भयौँ! 13याहवेहको समागम पालको नजिक आउने जो कोही पनि मर्नेछ। के हामी सबै जना नष्‍ट होऔँ त?”

Цяпер абрана:

गन्ती 17: NCV

Пазнака

Капіяваць

Параўнаць

Падзяліцца

None

Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце